English / Nepali

रोड टु COP26 नवप्रवर्तन अनुदान कार्यक्रम
रोड टु COP26 नवप्रवर्तन अनुदान कार्यक्रम काठमाडौँ विश्वविद्यालय तथा अप्लाइड आर्ट्स स्कटल्याण्ड र एडिन्बर्ग नेपिएर विश्वविद्यालयको क्रिएटिभ इन्फर्मेटिक्सबीचको साझेदारी हो । यसलाई राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोग प्राप्त छ । यो कार्यक्रम बेलायतको फरेन, कमनवेल्थ तथा डिभलप्मेन्ट अफिस नेपालको सहयोगमा द ब्रिटिश काउन्सिलद्वारा कार्यान्वयन हुने अभियान अन्तर्गत पर्दछ ।
कार्यक्रमका साझेदारद्वारा नेपालमा अवस्थित तथा दिगो व्यवसायका लागि नयाँ, उत्साहजनक र नवप्रवर्तक विचार भएका व्यक्ति तथा समूहहरूबाट आवेदन आह्वान गर्दछन् । यस्ता व्यवसायले प्रकृतिमा आधारित तथा हस्तकलासम्बन्धि उपायमार्फत नेपाल तथा विश्वका अन्य क्षेत्रको वातावरणमाथि सकारात्मक प्रभावलाई प्रवर्धन गर्नेछन् । प्रकृतिमा आधारित उपायहरू प्राकृतिक वा परिवर्तित पर्यावरण प्रणालीलाई संरक्षण गर्ने, तिनको दिगो व्यवस्थापन गर्ने तथा पुनर्स्थापना गर्ने क्रियाकलाप हुन् जसले सामाजिक परिवर्तनलाई प्रभावकारी तथा अनुकुलनात्मक ढंगले सम्बोधन गर्दछन् र साथसाथै मानिसहरूलाई सुख तथा जैविक विविधतामा लाभ पनि प्रदान गर्दछन् । जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीप्रति अनुलुकन तथा प्रतिकार्यलाई सशक्त बनाउन यस्ता क्रियाकलाप आवश्यक हुन्छन् । तपाईंका नयाँ विचारले प्रकृतिमा आधारित तथा हस्तकलासम्बन्धि अभ्यासका नयाँ प्रक्रिया प्रकाशमा ल्याउने छन् जसले विशेषगरि नेपालमा तथा विश्वभरिमै पनि जलवायु परिवर्तनका असरलाई सामना गर्न सघाउने छन् । तपाईंले सुझाउनु भएका उपाय अन्य देशका समुदायका लागि सान्दर्भिक हुन वा त्यहाँ अनुसरण गर्न लायक पनि हुन सक्छन् ।
नेपालमा जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न सघाउने सकारात्मक वातावरणीय प्रभावसहितका र प्रकृतिमा आधारित तथा हस्तकलासम्बन्धि कुनै पनि वा सबै विचारलाई हामी स्वागत गर्दछौँ । यो नितान्त नयाँ विचार हुनसक्छ वा तपाईंले लामो समयदेखि मनन् गरिरहेको विचार पनि हुनसक्छ । तर थोरैमा पनि तपाईंले आफ्नो विचारबारे अध्ययन गर्न वा त्यसलाई परिस्कृत गर्न थालिसकेको हुनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ । यो विचार एक विशुद्धरूपमा नौलो प्रक्रिया हुनसक्छ, सेवा वा वस्तु हुनसक्छ, वा अहिले रहिआएका साधनसामग्रीको सुधारतर्फ लक्षित हुन सक्छ । यो लघु व्यवसायप्रति वा ठूलो उद्योगप्रति लक्षित हुनसक्छ ।
तपाईंको आवेदन सफल भएमा तपाईंलाई आफ्नो विचारलाई थप विकास गर्न तथा त्यसबारे सोच्ने प्रक्रियालाई अझै परिस्कृत बनाउन एक इनक्युबेटर कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिने छ । इनक्युबेटर कार्यक्रमपछि तपाईंले चाहेमा आफ्ना विचारलाई कल्पनाबाट यथार्थतर्फ लैजान आवश्यक थप सहयोगका लागि आवेदन दिने अवसर पनि उपलब्ध हुनेछ । COP26 तर्फको यात्रामा तपाईंले आफ्नो काम नेपालमा तथा बेलायतमा प्रस्तुत गर्ने अवसर पनि उपलब्ध हुनसक्नेछ ।
उद्देश्य
नेपालमा दिगो व्यवसायका लागि जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न सघाउने र सकारात्मक वातावरणीय प्रभावसहितका र प्रकृतिमा आधारित तथा हस्तकलासम्बन्धि अभ्यास प्रवर्धन गर्ने नयाँ, उत्साहजनक तथा नवप्रवर्तक विचार र उपाय विकास गर्न सघाउनु यस कार्यक्रमको मूल उद्देश्य हो ।
यसका अतिरिक्त उद्देश्य नवप्रवर्तनको अझैबढी समावेशी परिभाषा विकास गर्नु हो जसले महिला, युवापुस्ता तथा अन्य सिमान्तकृत समुदायको प्रतिभालाई टेवा दिनु हो ।
लक्ष्य
समावेशिता, इमान्दारी, सिर्जनात्मकता, समता, समुदाय तथा नवप्रवर्तनको उच्च मूल्यांकन गर्दै
यस कार्यक्रमले विविध अनुभव तथा ज्ञानले सम्पन्न विभिन्न व्यक्ति तथा समूहलाई एकजुट गराउँदै तिनको सामूहिक अनुभव र ज्ञानलाई प्रकृतिमा आधारित तथा हस्तकलासम्बन्धि उपाय विकासका खातिर प्रयोग गर्दै पृथ्वी तथा यसका बासिन्दालाई लाभ पुर्याउने लक्ष्य राखेको छ ।
- नेपालमा जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्न सिर्जनात्मक प्रतिकार्यलाई सघाउने ।
- वातावरणीय लाभ उत्पादन गर्न स्थानीयस्तरमा पुस्तापुस्ताबीच ज्ञानसञ्चारलाई टेवा दिँदै त्यसको कार्यन्वयनमा सघाउने ।
- दिगो व्यवसाय उपाय प्रदान गर्न महिला, युवापुस्ता, सिमान्तकृत समुदाय तथा अपाङ्गतासहित बाँचिरहेका व्यक्तिको क्षमता निर्माणलाई सघाउने ।
- सामाजिक नवप्रवर्तनमा प्राप्त भएका परम्परागत उपलब्धिलाई जलवायु परिवर्तनजस्ता आधुनिक चुनौतीमा लागू गर्ने ।
- हाल रहिआएका प्रकृतिमा आधारित सामग्री तथा प्रविधिलाई अझै परिस्कृत बनाउने उपाय अन्वेषणका लागि सहयोगी वातावरण उपलब्ध गराउनु ।
योग्यता
तपाईं नेपालमा बसोबास गर्ने व्यक्ति हुनु पर्नेछ र तपाईंसँग कुनै वस्तु वा सेवामा आधारित व्यवसायका लागि कुनै यस्तो विचार हुनु पर्नेछ जसको केन्द्रविन्दुमा प्रकृतिमा आधारित सामग्री तथा विधि र हस्तकलासम्बन्धि अभ्यास होस् जसमा उक्त विचार वा व्यवसायभित्र वातावरणलाई लाभ पुर्याउने तथा जलवायु परिवर्तनका प्रभावलाई प्रतिकार्य गर्ने इच्छा स्पष्ट देखिनु पर्नेछ । उक्त विचार वा व्यवसाय नयाँ पनि हुन सक्छ वा सन्चालनमा रहेको पनि हुन सक्छ र यस कार्यक्रममार्फत उपलब्ध सहयोग तथा विकासको अवसरबाट लाभ लिनसक्ने अवस्थामा हुनु पर्नेछ । यसका लागि व्यक्ति वा समूह दुवैले आवेदन दिन सक्नु हुनेछ । तपाईंको शिक्षा वा उद्योग वा विधा कुनैपनि पृष्ठभूमिको हुनसक्ने छ । इनक्युबेटर कार्यक्रम अनलाइन हुने भएकाले इन्टरनेटसम्म पहुँच आवश्यक हुनेछ । हामी विशेषगरि महिला, युवापुस्ता तथा अल्पसंख्यक जनजाती समूहका र अपाङ्गतासहित बाँचिरहेका व्यक्तिलाई यस कार्यक्रममा आवेदन दिन प्रोत्साहन गर्छौँ ।
सहभागिता
इनक्युबेटर कार्यक्रममा सहभागी हुन जम्मा ५० व्यक्तिसम्मलाई छनौट गरिने छ । योग्य सहभागीलाई छनौट मापदण्ड अनुसार उनीहरूले आवेदन दिएको विचारको आधारमा छानिने छ । हामी विविध उमेर, लिङ्ग, जातीय उत्पत्ति, क्षमता, शैक्षिक पृष्ठभूमि तथा विधाको वृहत् प्रतिनिधित्व प्राप्त गर्ने लक्ष्य राख्ने छौँ । छनौट भएका सहभागीलाई इन्क्युबेटर कार्यक्रम सकिएपछि थप सहयोगका लागि आवेदन गर्ने अवसर प्राप्त हुनेछ जहाँ अनुदान तथा परामर्शमार्फत पाँचवटा विचारलाई थप विकास गरिने छ ।
समयतालिका
- कार्यक्रमका लागिआवेदन खुल्ला २०७७ साल माघ ७ गते
- नवप्रवर्तन अनुदान कार्यक्रम अभिमुखीकरण वेबिनार २०७७ साल माघ १२ गते
- कार्यक्रमका लागि आवेदन बुझाउने मिति २०७७ साल फागुन ६ गते
- सबै आवेदकलाई नतिजाबारे सूचना २०७७ साल फागुन १३ गते
- इनक्युबेटर कार्यक्रम २०७७ साल फागुन १९ – २१ र २४ – २६ गते
- थप सहयोगका लागि आवेदन खुल्ला २०७७ साल चैत्र २ गते
- थप सहयोगका लागि आवेदन बुझाउने मिति २०७७ साल चैत्र ८ गते
- सबै आवेदकलाई नतिजाबारे सूचना २०७७ साल चैत्र १६ गते सम्ममा
- अनुदान तथा अनुगमन अवधि २०७७ चैत्र १९ — २०७८ भदौ १६ गते
- नेपालमा प्रस्तुति कार्यक्रम २०७८ असोज
- बेलायतमा प्रस्तुति कार्यक्रम २०७८ कार्तिक
कार्यक्रम
इनक्युबेटर कार्यक्रमलाई काठमाडौँ विश्वविद्यालय तथा अप्लाइड आर्ट्स स्कटल्याण्डद्वारा आयोजना गरिने छ । यो कार्यक्रम अनलाइन हुनेछ भने कोभिड-19 को अवस्थाले साथ दिएमा केही सहभागीले काठमाडौँ विश्वविद्यालय डिपार्टमेन्ट अफ आर्ट एण्ड डिजाइनको हात्तीवनस्थित प्रांगणमा पनि केहि सत्रका लागि उपस्थित हुनसक्ने सम्भावना छ । यी भौतिक सत्रहरूमा अन्य कारणले अनलाइन सत्रहरूमा सहभागी हुनबाट वन्चित हुनसक्ने सहभागीहरूलाई प्राथमिकतामा राखिने छ ।
नेपाल औपचारिक समय अनुसार अपराह्न सत्रहरूमा ‘लाइभ’ कार्यक्रमहरू पनि आयोजना हुनेछन् । कार्यक्रम सत्रअघि र पछि सहभागीहरूले आफ्नै सुविधामा हेर्न मिल्ने प्रिरिकर्डिंग गरिएका सामग्री उपलब्ध हुनेछन् । लाइभ तथा प्रिरिकर्डिंग गरिएका सामग्री नेपाली र अंग्रेजी दुवैमा उपलब्ध हुनेछन् । प्रिरिकर्डिंग गरिएका र कार्यक्रम सत्रका दौरान रेकर्ड गरिएका सामग्रीलाई काठमाडौँ विश्वविद्यालय तथा अप्लाइड आर्ट्स स्कटल्याण्ड र एडिन्बर्ग नेपिएर विश्वविद्यालयका प्रतिनिधिका साथै अन्य आमन्त्रित नेपाली विशेषज्ञहरूद्वारा प्रस्तुत गरिने छन् ।
अतिरिक्त सहयोग उपलब्ध गराइएका व्यक्ति तथा समूहले हरेक महिना नेपाल तथा बेलायतका विशेषज्ञबाट उनीहरूप्रति विशेष लक्षित परामर्श सत्र प्राप्त गर्नेछन् । यी सत्र कोभिड-19 को अवस्थाले सम्भव बनाएमा प्रत्यक्ष वा अनलाइन हुनेछन् । विशेषज्ञहरूको परामर्श सत्र तपाईंले प्रस्तुत गर्नुभएको विचार वा तपाईंले पहिल्याउनु भएको अवश्यकताप्रति लक्षित हुनेछन् । अनुदानका साथसाथै यी सत्रहरूले तपाईंलाई आफ्नो विचारलाई प्रारम्भिक स्वरूपको वस्तु, सेवा, विधि आदिमा विकास गर्न र उक्त कामलाई नेपाल तथा बेलायतका दर्शकसामु कसरी सबैभन्दा बेस प्रस्तुत गर्ने भन्नेबारे परिकल्पना गर्न सघाउने छ ।
प्रस्तुति कार्यक्रमहरू नेपालमा तथा बेलायतमा आयोजना गरिनेछन् । यी कार्यक्रम तपाईंले आफ्ना विचार, अनुभव तथा योजनाको प्रारम्भिक स्वरूप एक वृहत् दर्शकदिर्घासामु प्रस्तुत गरेर सल्लाहसुझाव प्राप्त गर्न सकिने छ । प्रस्तुति कार्यक्रमका संरचना २०७८ साल साउनसम्ममा निर्धारण गरिसकिने छ । यी कार्यक्रम तर्जुमा गर्नमा तथा सम्पन्न गर्नमा सबै राष्ट्रिय तथा स्थानीय सरकारहरूका कोभिड-19 सम्बन्धि नियमलाई पालना गरिनेछ ।
अध्ययन
यस कार्यक्रमको दौरानमा विकास गरिएका केही विचारलाई हामीले प्राज्ञिक केस स्टडी अध्ययनमा उल्लेख गर्ने सम्भावना छ जहाँ हामीले मानिस, पृथ्वी, लाभ र उद्देश्यलाई उक्त विचारहरूमा कसरी सम्बोधन गरिएको छ तथा उक्त विचारहरूले वातावरणीय सुधार तथा जलवायु परिवर्तनका प्रभावको प्रतिकार्य गर्नमा सघाएका छन् भन्ने अध्ययन गर्न सक्नेछौँ । यसरी हुने कुनै पनि उद्धरण वा उल्लेखमा तपाईंको बौद्धिक सम्पत्तिको अधिकारलाई समुचित श्रेय दिइने छ र तपाईंको विचार वा सम्भावित व्यवसायको दिगोपनामा असर पर्न दिने छैनौँ । छनौटमा परेका सहभागीहरू यस अध्ययन प्रक्रियामा सामेल हुनेछन् भन्ने हाम्रो अपेक्षा छ जसअन्तर्गत अन्तर्वार्तामा भाग लिने तथा फोटो, भिडियो तथा अडियोसहित अतिरिक्त विवरण पेश गर्नेजस्ता गतिविधि पनि पर्न सक्छन् । निश्चय नै त्यस्ता सामग्रीलाई आफ्नो नाम नखुलाई गोपनीयतासहित पेश गर्ने तपाईंको अधिकार सुरक्षित रहनेछ । तपाईंबाट प्राप्त विवरण र तथ्यांकलाई काठमाडौँ विश्वविद्यालय तथा एडिनबर नेपियर विश्वविद्यालयका अध्ययनबारे नैतिकता तथा तथ्यांक सुरक्षाका मापदण्डको अधीनमा रहेर गोपनीयताका साथ व्यवहार गरिनेछ ।
प्रकाशन तथा प्रचारप्रसार
कार्यक्रमका लागि छनौटमा परेका सहभागीले संचारमाध्यम वा मिडियाबाट आएका जायज अनुरोधप्रति सहमति दिनेछन् भन्ने अपेक्षा गरिन्छ र आफैँले मिडियामा सामग्री प्रकाशन गर्नु अघि यहाँ दिइएको इमेल ठेगानामा सम्पर्क गरेर कार्यक्रम टोलीसँग छलफल गर्नेछन् भन्ने अपेक्षा गरिन्छ । कार्यक्रम साझेदारहरूको परस्पर सहमतिमा प्रेस विवरण प्रकाशन गरिनेछ ।
आवेदन कसरी गर्ने
यो गुगल फर्म मार्फत २०७७ साल फागुन ६ गते नेपालको मध्यरात अगावै आफ्नो आवेदन पेश गर्नुहोस् ।
तपाईंको वा तपाईंको समूह, पृष्ठभूमि तथा तपाईंले पेश गर्न चाहेको विचारबारे विवरण सोध्ने छौँ । तपाईंको विचारबारे विवरण लिखितरूपमा यसै फर्ममा वा त्यसबारे भिडियो बनाएर अपलोड गरेर पनि पेश गर्न सकिनेछ । तपाईंको विचार सबैभन्दा महत्त्वपूर्ण वस्तु हो त्यसैकारण त्यसलाई स्पष्ट व्याख्या गर्नुहोस् । त्यसलाई अघि बढाउन तपाईं वा तपाईंको समूह नै किन सबैभन्दा लायक छ र यो कार्यक्रमले तपाईंलाई त्यस क्रममा कसरी सघाउन सक्छ भन्ने स्पष्ट रूपमा बताउनुहोस् ।
समूहको रूपमा आवेदन दिँदै हुनुहुन्छ भने आफ्नोआवेदनमा इनक्युबेटर कार्यक्रममा सहभागी हुन कुनै एक व्यक्तिलाई प्रतिनिधि तोकेर उनको विवरण पेश गर्नुहोस् ।
फर्ममा अनिवार्य प्रश्नसँगै रातो एस्टेरिस्क चिह्न लगाइएको छ — तपाईंको आवेदनमाथि गौर गर्नका लागि यी प्रश्नहरूको अनिवार्य जवाफ दिईएको हुनुपर्नेछ । तोकिएका स्थानमा शब्द संख्या तथा समयको पाबन्दी पालना भएको छ भन्ने सुनिश्चित गर्नुहोस् । आवेदन पेश गर्ने अन्तिम मिति अघिसम्म आवेदन फर्मलाई अनलाइन सेभ गरेर कुनै पनि समयमा फेरी भर्न सक्नु हुनेछ ।
आवेदन पेश गर्ने अन्तिम मिति सकिएपछि प्राप्त आवेदन स्वीकार्य हुने छैनन् ।
अतिरिक्त सहयोगका लागि आवेदनबारे जानकारी इन्क्युबेटर कार्यक्रमका सहभागीहरूलाई उपलब्ध गराइने छ। द ब्रिटिश काउन्सिल, काठमाडौँ विश्वविद्यालय तथा अप्लाइड आर्ट्स स्कटल्याण्डले २०७७ साल माघ १२ गते नवप्रवर्तन अनुदान कार्यक्रमबारे संयुक्त वेबिनार आयोजना गर्नेछन् । उक्त वेबिनारका लागि यस फर्ममार्फत आफ्नो नाम दर्ता गर्न सकिन्छ ।
आवेदन फर्म
यो गुगल फर्म मार्फत २०७७ साल फागुन ६ गते नेपालको मध्यरात अगावै आफ्नो आवेदन पेश गर्नुहोस् ।
छनौट
इन्क्युबेटर कार्यक्रम तथा अतिरिक्त सहयोग दुवैका लागि सहभागीलाई कार्यक्रम साझेदारहरूका प्रतिनिधिले छनौट गर्नेछन् :
- प्रतिष्ठित लाल श्रेष्ठ, सहप्राध्यापक, मेकानिकल इन्जिनिएरिङ, स्कुल अफ इन्जिनिएरिङ, काठमाडौँ विश्वविद्यालय
- कीर्तीमान शाक्य, डिजाइन फ्याकल्टी, डिपार्टमेन्ट अफ आर्ट एण्ड डिजाइन, स्कुल अफ आर्ट्स, काठमाडौँ विश्वविद्यालय
- प्रीना बज्राचार्य, भिजिटिंग फ्याकल्टी, डिपार्टमेन्ट अफ आर्ट एण्ड डिजाइन, स्कुल अफ आर्ट्स, काठमाडौँ विश्वविद्यालय
- डा. लिन हकिङ्-मेन्नी, सहअध्यक्ष, अप्लाइड आर्ट्स स्कटल्याण्ड
- हेलेन भोस, सल्लाहकार, अप्लाइड आर्ट्स स्कटल्याण्ड
- डा. इङ्गे पान्नील्स, रिसर्च फेलो, एडिनबर नेपियर विश्वविद्यालय
- निश्चल ओली, हेड अफ आर्ट्स, द ब्रिटिश काउन्सिल नेपाल
- रोशा चित्रकार, क्रफ्टेद इन काठमाडौं
- डा. ज्योती तन्दुकार , त्रिभुवन बिश्वबिद्यालय
- श्यामबदन श्रेष्ठ , नेपाल नोत्क्रफ्त सेन्टर
- मिरा पोखरेल, प्रमुख कार्यकारी अधिकारी, राष्ट्रिय आविष्कार केन्द्र
- डा. सुनिल चित्रकार, सहअध्यक्ष, फेअर ट्रेड ग्रुप नेपाल / प्रमुख कार्यकारी अधिकारी, महागुठी
योग्य आवेदनहरू (माथि हेर्नुहोस्) मध्येबाट हुने छनौट तपाईंले आफ्नो विचारबारे आवेदनमा पेश गरेको विवरण तथा निम्न छनौट मापदण्ड अनुसार हुनेछ :
- कार्यक्रमका उद्देश्य र लक्ष्यलाई सम्बोधन गर्न सक्ने विचारको सम्भावित क्षमता
- भविष्यमा तपाईंको विचार कार्यान्वयन हुनाले मानिसहरू, पृथ्वी, लाभ तथा उद्देश्यमा हुने सकारात्मक प्रभाव
- तपाईंको विचारको थप विकासमा कार्यक्रमले गर्नसक्ने सहयोगको सम्भाव्यता
रोड टु COP26 नवप्रवर्तन अनुदान कार्यक्रम : बारम्बार सोधिने प्रश्नहरू
कोप-२६ के हो?
कोप-२६, वा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (बेलायत), वि.सं. २०७८ कार्तिक १५-२६ (सन् २०२१ नोभेम्बर १-१२) मा स्कटल्याण्डको ग्लास्गोमा हुन गइरहेको एउटा विश्वव्यापी कार्यक्रम हो ।
जलवायु परिवर्तनसम्बन्धी अन्तराष्ट्रिय सन्धिको रूपमा रहेको पेरिस सम्झौता अनुमोदनपछि आयोजित कार्यक्रमको दौरान तय गरिएको जलवायु परिवर्तन विरुद्धको उच्च महत्वकांक्षी योजनाहरूमा विश्वका २०० भन्दा बढी राष्ट्रप्रमुखहरूले प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले विश्वव्यापी तापमान वृद्धिको विरुद्ध अझ ठोस कार्यलाई अघि बढाउन स्वेच्छापूर्वक कार्यसूचीहरू निर्धारण गर्नेछन् ।
मूलरूपमा सन् २०२० को नोभेम्बर महिनामा आयोजना हुनुपर्ने यस सम्मेलन कोभिड-१९ विश्व महामारीको कारण स्थगित भएको थियो ।
रोड टु COP26 भनेको के हो? यसमा को-को संलग्न छन् ?
रोड टु COP26 भनेको ब्रिटिश काउन्सिलको कार्यान्वयन र फोरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (FCDO) नेपालको वित्तीय सहयोग रहेको विभिन्न गतिविधिको एउटा अभियान हो । यस अभियानले युवा, नेतृत्ववर्ग र महिला/बालिकाको लागि सिर्जनात्मक मन्चहरूको प्रयोग गर्दै जलवायु परिवर्तनसम्बन्धी संवादमा भाग लिने अवसरहरू प्रदान गर्दछ । यस अन्तर्गत जलवायु परिवर्तनबाट सिर्जित विश्व चुनौतीको सिर्जनात्मक समाधानहरूका लागि मद्दत गर्न सिर्जनात्मक, नवप्रवर्तन र उद्यमलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरामा प्रकाश पारिन्छ ।
यी गतिविधिहरू ब्रिटिश काउन्सिल नेपालको नेपालमा रहेका, बेलायतमा रहेका र अन्तराष्ट्रिय स्तरका सङ्गठनहरूको सञ्जाल र विज्ञहरूको मध्यस्थतामा नेपाल-बेलायत साझेदारी कार्यक्रमहरूद्वारा अघि बढाइनेछ ।
रोड टु COP26 अन्तर्गतको नवप्रवर्तन अनुदान कार्यक्रमले कलाका सिर्जनशील क्षेत्रमार्फत् नवप्रवर्तनको खोजी गर्दछ । यस कार्यक्रमलाई काठमाडौं विश्वविद्यालयको स्कूल अफ आर्ट्स र स्कूल अफ इन्जीनियरिङ, अप्लाइड आर्ट्स स्कटल्याण्ड र एडिनबर्ग नेपियर युनिभर्सिटीद्वारा संयुक्त रूपमा संचालन गरिनेछ । यसमा आबद्ध अर्को साझेदार राष्ट्रिय आविष्कार केन्द्र हो र यसलाई ब्रिटिश काउन्सिलको विश्व कार्यक्रम क्राफ्टिङ फ्यूचर्सको सहयोग गरेको छ ।
यस कार्यक्रमको लागि कस्तो प्रकारको सोचहरू उपयुक्त हुन्छन् ? मेरो सोचको चरण कुन हुनुपर्छ ?
चक्रीय अर्थतन्त्र, दिगो सामाग्री विकासमा केन्द्रित सोचहरू, मौलिक तथा परम्परागत ज्ञान तथा सीपहरूको प्रयोग गरी प्राकृतिक स्रोतहरूको दिगो उपयोग तथा व्यवस्थापनमा चासो राख्ने सोचहरूलाई यस कार्यक्रममा आवेदन गर्न प्रोत्साहित गरिन्छ । डिजिटल प्रविधिहरू र हलुका यान्त्रीकरण शक्ति उपयोग गरी कला क्षेत्रको लागि विद्यमान बजार अवसरहरूमा सुधार गर्नसक्ने सोचहरूलाई पनि हामी प्राथमिकता दिन्छौं ।
नेपालमा जलवायु परिवर्तनसम्बन्धी धेरैजसो गतिविधिहरू समुदाय तथा जलवायु परिवर्तनको असरलाई पहिलो अनुभव गर्ने मानिसहरूको आर्थिक सबलीकरणमा केन्द्रित भएका छन् । आर्थिक सबलीकरणले मानिसलाई आयको विभिन्न क्षेत्रमा लगानी गर्न मद्दत गर्दछ र अनपेक्षित परिणामहरूबाट बच्ने विकल्पहरू प्रदान गर्दछ ।
आफ्नो श्रमशक्तिको लागि आर्थिक लाभहरूलाई अघि बढाउन नेपाल सरकारले कला र अन्य व्यवसायिक सीप विकासमा निरन्तर सहयोग गर्दै आएको छ । कला र यससँग सम्बन्धित सिर्जनात्मक क्षेत्रमा नवीन प्रयोग र नवप्रवर्तनका लागि अझै पनि धेरै ठाउँ रहेका छन् जसले नयाँ अवसर, सोच र उद्यम सिर्जना गर्न सक्छ । हामी जलवायु परिवर्तनप्रति सङ्कटउन्मुख रहेका मानिस, पेशा र व्यवसायलाई सकारात्मक प्रतिफल दिलाउन मद्दत गर्ने जुनसुकै सोचको लागि खुला छौं । तर यी सोचहरू प्रकृतिमा आधारित परम्परागत निर्माण, परम्परागत जीविकोपार्जन, सोको पहिचान, परम्परागत सीप र राष्ट्रिय महत्वका अन्य अमूर्त सम्पदाहरूको आरक्षण गर्ने किसिमको हुनुपर्छ ।
सोचहरू विकासका विभिन्न चरणमा हुन सक्छन् । कम्तीमा पनि आवेदकहरूले तलका मापदण्डहरूमा रहँदै आफ्नो सोचहरूको विस्तार र परिभाषित गरेको हुनेछन् भन्ने हामी अपेक्षा गर्दछौं :
- मानिस : यस सोच कोप्रति लक्षित छ, कसलाई लाभ प्रदान गर्छ र कसमाथि प्रभाव पार्दछ? यसलाई प्रवाह गर्ने कार्यमा को-को संलग्न छन्?
- पृथ्वी : के यस सोचको कुनै वातावरणीय प्रभाव हुनेछ ? यस सोचले जलवायु परिवर्तन उत्थानशीलतामा कसरी सहयोग गर्दछ ? यो सोच र यसको प्रवाहले प्राकृतिक स्रोतहरूलाई कसरी दिगो व्यवस्थापन गर्दछ ? यस सोच प्रवाह गर्नको लागि के कस्तो स्रोतहरू आवश्यक छन् ? यी स्रोतहरू हाल कसले र कसरी व्यस्थापन गरिरहेका छन्?
- लाभ : यस सोचको आर्थिक मूल्य के रहेको छ ? के यो सोच बजारको आवश्यकतामा आधारित छ ? के यो सोच उत्पादन/सेवाको लागि सम्भाव्य छ ?
- प्रयोजन : यस सोचले कुन वृहत लक्ष्यहरूमा योगदान गर्दछ? के यस सोचले मानिस, ग्रह/पृथ्वी र लाभभन्दा पनि परको प्रतिफलहरूलाई लक्षित गरेको छ?
मेरो सोचमा के कस्तो नवप्रवर्तन छ भन्ने कुरा मैले कसरी वर्णन गर्ने ?
यदि तपाईंको सोचले विद्यमान कमीकमजोरी वा दूरीलाई कम गर्छ, कुनै प्रक्रियालाई नयाँपन दिँदै अझ बढी रणनीतिक/प्रभावकारी बनाउँछ, अन्य क्षेत्र/विज्ञताबाट सिकेका कुरा र ज्ञानलाई थप परिष्कृत र विकास गर्न सक्छ वा व्यवसाय कार्यसम्पादनका विभिन्न परिसूचकबीच (मानिस, ग्रह/पृथ्वी, लाभ र प्रयोजन) तालमेल मिलाउँदै समाधान निकाल्न सक्छ भने सो कुरा तपाईंको आवेदनमा उल्लेख गर्नुहोस् । अहिलेको सन्दर्भमा सम्भव हुनसक्ने कुराहरूमध्ये तपाईंको सोच किन सबभन्दा प्रभावकारी, सान्दर्भिक र प्रभावपूर्ण छ भन्ने कुरामा विचार गर्नुहोस् ।
नवप्रवर्तन तपाईंको वृहत्तर सोचको एउटा सानो हिस्सा हुन सक्छ, सोसम्बन्धी प्रक्रियाको हिस्सा हुनसक्छ, वा यो आफैमा एउटा लक्ष्य हुन सक्छ । तर यसमा हुनुपर्ने विशेषता भनेको दिगोपन, सबै पक्ष सामेल भएको एकीकृत, समावेशी र प्रभावपूर्ण हुनुपर्छ ।
“मानिस, पृथ्वी , लाभ र प्रयोजन“ भनेको के हो ?
मानिस, पृथ्वी र लाभको तीनवटा आधारभूत रेखा एउटा त्यस्तो ढाँचा हो जसले यी तीनवटै क्षेत्रमा कुनै पनि व्यवसायको कार्यसम्पादन मूल्यांकन गर्दछ र प्रायः मानिस र पृथ्वीले मूल्य चुकाउँदै लाभमा मात्र केन्द्रित हुने व्यवसायको स्वरूपभन्दा माथि जान्छ । हालैका वर्षहरूमा ‘प्रयोजन’लाई चौथो आधारभूत रेखाको रूपमा सुझाव गरिएको छ जसले संस्कृति, सम्पदा, आध्यात्मिकता र आस्था लगायतका क्षेत्रमा व्यवसायका कार्यहरूबाट पर्ने वृहत सामाजिक प्रभावलाई समेत समेट्दछ । यस कार्यक्रमले कुनै पनि सोच, व्यवसायले वातावरण र समाजमा, एउटा समूहदेखि लिएर गाउँ, राष्ट्र र विश्व समुदायमा प्रभाव पार्न सक्ने विभिन्न तरिकाहरूमा प्रकाश पार्ने लक्ष्य राख्छ । अन्य कुराहरूलाई वेवास्ता गरेर आर्थिक लाभलाई प्राथमिकता दिने प्रणाली दिगो नहुने कुरा अहिले स्पष्ट भइसकेको छ । त्यसैले अब हामीले गर्ने कामका नयाँ तरिकाहरू निर्माण गर्न हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ जसले वातावरणीय संरक्षण, सामाजिक समता र मानवीय मूल्य प्रणालीलाई महत्व दिँदै दिगो व्यवसाय विकासलाई अघि बढाउँछ ।
हस्तकला भनेको के हो?
हस्तकलाको परिभाषा विभिन्न हुन सक्छन् । यस कार्यक्रमको प्रयोजनका लागि हामी हस्तकलालाई परम्परागत तथा स्थानीय प्रक्रिया र अनुभवको उपयोग गरी प्रत्यक्ष हातबाट नै कच्चा सामग्रीहरूलाई कुशलतापूर्वक प्रयोग गर्दै वस्तुहरू निर्माण गर्नु हो । हस्तकलाका वस्तु र प्रक्रियाहरूको छुट्टै मूल्य हुन्छन् । तिनीहरूलाई स्थानीय एवम् विश्व बजारमा तिनीहरूको उपयोगिता, कलात्मक, सांस्कृतिक, धार्मिक, शैक्षिक र/वा सामाजिक मूल्यका लागि खरिद गरिन्छन् । तिनीहरू प्रायः कुनै खास स्थान, समुदाय वा मानिससँग जोडिएका हुन्छन् । केही हस्तकलात्मक सीप र वस्तुहरू पुस्तौं पुस्तासम्म चल्दै आएका हुन्छन् । अन्य हस्तकलात्मक वस्तुहरू बदलिँदो बजार, उपकरण र सीपसम्बन्धी हालैका आवश्यकताको प्रतिक्रियाको रूपमा उत्पादन भएका हुन सक्छन् ।
जलवायु परिवर्तन र जलवायु परिवर्तन उत्थानशीलता भनेको के हो ?
जलवायु परिवर्तन मानव जातिले सामना गरेको एउटा संवेदनशील विश्व चुनौती हो । विगतमा पृथ्वीको औसत तापमानमा उतारचढाव आउने गरेको भएपनि हालको समयमा यो परिवर्तन दू्रत रहेको र पृथ्वीको वायुमण्डलमा हरितगृह प्रभाव उत्पन्न गरी विश्व तापमान बढाउने ग्यासहरूको बढ्दो उत्सर्जनसँग जोडिएको छ । विश्व तापमानमा हुने वृद्धिले जलवायु परिवर्तन गराउँछ, परिणामस्वरूप समुद्र सतह माथि उठ्छ, हिमनदी पग्लन्छन्, मौसमको स्वरूपमा अति धेरै उचारचढाव आउँछ र प्राकृतिक विपदहरू धेरै नियमित जस्तो हुने गर्दछन् ।
जलवायु परिवर्तन उत्थानशीलता भन्नाले जलवायु परिवर्तनद्वारा सिर्जित प्रकोपपूर्ण अवस्थाहरूको अनुमान गर्ने, सोको लागि पूर्वतयारी गर्ने र त्यस्तो अवस्थाको प्रतिकार्य गर्नसक्ने क्षमता भन्ने बुझिन्छ । स्थानीयदेखि विश्व तहसम्म जलवायु परिवर्तनप्रतिको उत्थानशीलता अभिवृद्धि गर्ने विभिन्न तरिकाहरू छन् ।
प्रकृतिमा आधारित समाधान भनेको के हो ?
प्रकृतिमा आधारित समाधान भनेको प्राकृतिक र परिवर्तित पारिस्थितिकी प्रणालीको संरक्षण गर्ने, दिगो व्यवस्थापन गर्ने र पुनःस्थापित गर्ने कार्यहरू हुन् जसले सामाजिक चुनौतीहरूलाई प्रभावकारी र अनूकूलन हिसाबले सम्बोधन गर्दै जैविक विविधता र मानव हितमा सँगसँगै लाभ प्रदान गर्दछ ।
आवेदन गर्नको लागि के मलाई/हामीलाई कुनै शैक्षिक योग्यता आवश्यक पर्दछ ?
अहँ, पर्दैन । सोच र नवप्रवर्तन जोकोहीमा जहाँकहीं पनि प्रस्फुटित हुन सक्छ र कुनै पनि विधा क्षेत्रबाट आउन सक्छ भन्ने हाम्रो विश्वास हो । त्यसैले हामी जोकोहीबाट आवेदनहरू स्वागत गर्दछौं ।
हामी टीम/समुदाय हौं, के हामी आवेदन गर्न सक्छौं ?
पक्कै पनि सक्नुहुन्छ । व्यक्ति र टीमहरूले आवेदन गर्न सक्छन् । टीम अन्तर्गत संस्था, कम्पनी, साझेदारी, समूह वा समुदाय हुन सक्छ । टीम आवेदनको लागि तपाईंले आफ्नो आवेदनमा र इन्क्युबेटर कार्यक्रममा उपस्थित हुने कुनै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्छ । अनुदान/अनुशिक्षण चरणका लागि सोचहरू प्रस्तुत गर्न छनौट भएका टीमहरूलाई अन्य विकल्पहरू उपलब्ध गराइनेछ ।
कार्यक्रमको समयसीमाप्रति के म प्रतिबद्ध हुनुपर्छ ?
हो, यस इन्क्युबेटर कार्यक्रमको लागि हुनुपर्छ । आवेदकहरूले कार्यक्रमको समयसीमा हेर्नुपर्छ र इन्क्युबेटर कार्यक्रमको महत्वपूर्ण वा प्रमुख मितिहरूमा आफू उपलब्ध हुने निश्चित गर्नुपर्छ । इन्क्युबेटर कार्यक्रमबाट पारित भएका सोचहरू मात्र अनुदान र अनुशिक्षणको थप सहयोगका लागि आवेदन गर्न योग्य हुन्छन् । अनुशिक्षणको समय र तालिकालाई प्रत्येक अनुदान प्राप्त गर्ने व्यक्ति/टीमको उपलब्धता र आवश्यकता अनुरूप हुनेगरी तय गरिनेछ । तसर्थ, आवेदन गर्दा इन्क्युबेटर कार्यक्रमको मितिमा ध्यान दिनुहोला ।
नवप्रवर्तन अनुदान कार्यक्रमको बारेमा थप कुरा थाहा पाउने कुनै अवसर छ ?
छ । काठमाडौं विश्वविद्यालय, ब्रिटिश काउन्सिल र अप्लाइड आर्ट्स स्कटल्याण्डले सन् २०७७ माघ ९ गते शुक्रबारका दिन दिउँसोको ४ देखि ५ बजेसम्म नवप्रवर्तन अनुदान कार्यक्रमको बारेमा एउटा अभिमुखीकरण अनलाइन कार्यक्रम (वेविनार) आयोजना गर्नेछ ।
यस वेविनारको लागि दर्ता गर्न कृपया यो फाराम भर्नुहोस् ।
के तपाईंले मलाई मेरो आवेदनमा मद्दत गर्नुहुन्छ ?
आवेदन प्रक्रियालाई सकेसम्म समावेशी र सबैको पहुँच हुने बनाउन हामी प्रतिबद्ध छौं । यदि तपाईंको कुनै जिज्ञासा छन् वा तपाईंको आवेदनमा सहयोग चाहिएको छ भने कृपया cop26@kuarts.edu.np मा इमेल गर्नुहोस् र हामीले तपाईंलाई मद्दत गर्ने प्रयास गर्नेछौं ।
कृपया ध्यान दिनुहोला, तपाईंले हाम्रो डिजिटल फाराममार्फत् वा एउटा छोटो भिडियोको रूपमा आफ्नो आवेदन पेश गर्न सक्नुहुनेछ ।
तपाईंलाई मेरो व्यक्तिगत जानकारी किन चाहिन्छ (जस्तै उमेर, लिङ्ग) ?
यस कार्यक्रमले आवेदनकहरूबाट तथ्यांकीय प्रयोजनका लागि व्यक्तिगत जानकारीहरू संकलन गर्दैछ । तपाईंले आफ्नो आवेदनमा प्रदान गर्ने जानकारीले हामी कोसम्म पुगेका छौं, हाम्रो सञ्चार र हामीले गर्ने कार्य कत्तिको प्रभावकारी छ भन्ने बुझ्न हामीलाई मद्दत गर्नेछ । यी जानकारीहरूलाई प्रतिवेदन तयार गर्नको लागि समष्टि गरिनेछ र कुनै पनि प्रतिवेदनमा तपाईंको नाम वा पहिचान खुल्ने छैन । हामी तथ्यांकलाई गोपनीय राख्न प्रतिबद्ध छौं र तपाईंको लिखित सहमति विना तपाईंको व्यक्तिगत जानकारी परियोजना साझेदारभन्दा बाहिरका कसैसँग साझा गरिने छैन ।
कार्यक्रमका सहभागीहरूको लागि, हामी यस नवप्रवर्तन अनुदान कार्यक्रम बारेको कथा बताउन तपाईंको केही व्यक्तिगत जानकारी प्रयोग गर्न अनुरोध गर्न सक्नेछौं । यो तपाईंको अनुमति लिएर मात्र गरिनेछ । व्यक्तिगत जानकारी परियोजना अवधिभरिका लागि राखिनेछ (फेब्रुअरी २०२२ सम्म) ।
किन तपाईंले महिला, युवा, जातीय अल्पसंख्यक र अपाङ्गता भएका मानिसहरूबाट आवेदनहरू दिन प्रोत्साहित गर्दै हुनुहुन्छ ?
नवप्रवर्तन सोच विभिन्न स्रोतहरूबाट आउन सक्छ । हामी ती सोचहरूलाई सहयोग गर्न चाहन्छौं जसले जलवायु परिवर्तनबाट सबभन्दा बढी प्रभावित मानिसहरूलाई लाभ प्रदान गर्दछ । जलवायु परिवर्तन उत्थानशीलतामा सहयोग गर्ने समाधानहरूको विकासका लागि उनीहरूको आवाज र अनुभवहरूलाई महत्व दिनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्दछौ ।
हरेकको स्रोत र अवसरहरूमा समान पहुँच हुँदैन, र यसको अर्थ जलवायु परिवर्तनले मानिसहरूलाई फरक-फरक हिसाबले प्रभाव पार्दछ भन्ने हो । उदाहरणको लागि नेपालमा महिला र बालिकाहरू जलवायु परिवर्तनको प्रभावप्रति बढी सङ्कटउन्मुख छन् किनकि भूस्वामित्वको हिसाबले उनीहरू परम्परागत रूपमा नै वञ्चित छन् । त्यसैगरी, सीमान्तकृत समुदायका मानिस र अपाङ्गता भएका मानिसहरू पनि सङ्कटउन्मुख छन् र उनीहरूलाई समाजमा समान सहभागिताबाट रोक्ने अवरोधहरू हटाउन सकारात्मक कार्यहरू आवश्यक देखिन्छन् ।
हामी युवाहरूलाई आवेदन गर्न प्रोत्साहन गर्दछौं किनकि जलवायु परिवर्तन एउटा अन्तरपुस्तागत चुनौती हो, र युवा पुस्ताले जलवायु परिवर्तनका असरहरूसँग लामो समयसम्म सामना गर्दै जीउनुपर्ने हुन्छ ।
यी सबै कारणहरूले गर्दा, हामीले यस कार्यक्रममा विविध समूहका सहभागीहरू हुन् भन्ने कुरा अनुभूत गर्न सबैलाई सम्मिलित गराउने एकीकृत प्रयासहरू गर्दैछौं ।
बौद्धिक सम्पत्तिको बारेमा के हुन्छ ? यदि हामी यस नवप्रवर्तन कार्यक्रममा सहभागी भयौं भने मेरो/हाम्रो सोचहरूमा कसको अधिकार वा स्वामित्व हुन्छ ?
यस नवप्रवर्तन कार्यक्रमका सहभागीहरूले उनीहरूको बौद्धिक सम्पत्ति आयोजक वा आयोजना साझेदारहरूसँग साझा गर्नु, हस्तान्तरण गर्नु वा जिम्मा दिनु पर्दैन । अरुसँगै (जस्तै संघ, संस्था वा समुदायहरू) कार्य गर्ने गरी आवेदन दिनेहरूले कार्यक्रममा आबद्ध हुनुभन्दा अगावै आवश्यक अनुमति लिनुपर्छ । हामीले यस कार्यक्रमको लागि परम्परागत ज्ञानका लागि विश्व बौद्धिक सम्पत्ति सङ्गठनले विश्व बौद्धिक सम्पत्ति संगठनले तय गरेको संरक्षणको पालना गर्दछौं ।
त्यसैगरी, इन्क्युबेटर कार्यक्रममा स्थान पक्का हुने बित्तिकै कुनै पनि सहभागीलाई कार्यक्रम साझेदार, आयोजक र वित्तीय सहयोगकर्ताहरूसँग सम्बन्धित बौद्धिक सम्पत्तिको प्रयोग गर्ने अधिकार प्रदान गर्दैन ।
इन्क्युबेटर कार्यक्रम भनेको के हो ?
नेपाल र बेलायतका विज्ञहरूबाट संयुक्तरूपमा प्रदान गरिने इन्क्युबेटर कार्यक्रम धेरै दिनसम्म चल्ने कार्यक्रम हो । यो कार्यक्रम अनलाइनमार्फत् संचालन गरिन्छ र केही सहभागीहरूले स्वयं उपस्थित हुने चाहना देखाएमा उनीहरूको लागि स्वयं उपस्थिति हुने अवसर पनि प्रदान हुनेछ । यस कार्यक्रममा तालिम र अनुशिक्षण हुन्छ, समूह र व्यक्तिगत गतिविधि हुन्छ । यी सबै कार्यहरूको प्रयोजन भनेको सहभागीहरूले आफ्नो सोचलाई लैजान चाहेको दिशातर्फ अघि बढाउने कार्यमा सहयोग गर्न उनीहरूको क्षमता अभिवृद्धि गर्नु हो । व्यवसायिक क्षमता अभिवृद्धिको लागि उत्साहजनक अवसर प्रदान गर्न हामीले व्यवसाय, वातावरण, नागरिक समाज, सामाजिक उद्यम, कला र यससँग सम्बन्धित क्षेत्रहरूका अगुवाहरूसँग कार्य गरिहेका हुनेछौं ।
नेपालभरिबाट ५० जनासम्म सहभागीहरूले आआफ्नो स्थानबाट डिजिटल मन्चमार्फत् यस इन्क्युबेटर कार्यक्रमममा भाग लिनेछन् र थोरै संख्याका सहभागी मात्र स्वयं उपस्थित हुन सक्नेछन् (यो कुरा कोभिड १९ मार्गदर्शनमा निर्भर गर्दछ) ।
यस कार्यक्रममा भाग लिन कुनै खर्च वा पैसा लाग्छ ?
अहँ, यस कार्यक्रमको कुनै पनि गतिविधिमा आवेदन गर्न र (यदि छनौट भएमा) सहभागी हुन कुनै शुल्क लाग्दैन । यस कार्यक्रममा स्थान प्रदान गर्ने कार्य पूर्णरूपमा हाम्रो नवप्रवर्तन अनुदान कार्यक्रमको आह्वान, आवेदन र छनौट प्रक्रिया अनुरूप गरिनेछ ।
थप जानकारी तथा सहयोग
थप जानकारीका लागि बारम्बार सोधिइने प्रश्नको सूची तुरुन्त पढ्ने सुझाव दिन्छौँ । माघ ९ गते आयोजना हुने नवप्रवर्तन अनुदान कार्यक्रम वेबिनारमा सहभागी भएर पनि थप जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
थप प्रश्न भएमा वा सहयोग आवश्यक भएमा कृपया तपाईंलाई आवश्यक सहयोग र आफ्ना प्रश्नलाई विस्तारमा लेखेर cop26@kuart.edu.np मा इमेल गर्नुहोला ।
नवप्रवर्तन अनुदान कार्यक्रम
यस नवप्रवर्तन अनुदान कार्यक्रमलाई द ब्रिटिश काउन्सिलको क्राफ्टिङ् फ्युचर्स कार्यक्रमको सहयोग प्राप्त छ जसले हाम्रो इतिहास, संस्कृति तथा समसामयिक विश्वमा हस्तकलाको महत्त्वलाई सराहना गर्दछ र विश्वभरिकै मानिसहरूलाई उत्प्रेरणा दिनसक्ने हस्तकलाको अद्वितीय सामर्थ्यलाई उजागर गर्दै एक सकारात्मक भविष्य निर्माण गर्दछ ।
यस कार्यक्रमलाई फरेन, कमनवेल्थ तथा डिभलप्मेन्ट अफिस नेपालको सहयोगले सम्भव बनाएको छ ।
COP26 संयुक्त राष्ट्र संघको २६ औँ जलवायु परिवर्तन सम्मेलन हो जसको आयोजना २०७८ साल कार्तिक १५ देखि २६ गतेसम्म संयुक्त अधिराज्यको स्कटल्याण्ड राज्यको ग्लास्गो शहरमा हुँदैछ । यस वार्षिक सम्मेलनले विश्वव्यापी तापमान वृद्धि तथा जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्ने कार्यक्रमलाई प्रेरित गर्ने उद्देश्यले सयौँ राष्ट्रका प्रतिनिधिलाई भेला गराउने गर्दछ ।
अप्लाइड आर्ट्स स्कटल्याण्ड
अप्लाइड आर्ट्स स्कटल्याण्ड मेकर्सद्वारा मेकर्सकालागि संचालित एक सदस्यतामा आधारित संस्था हो जसले स्कटल्याण्डको मेकर्स अर्थात् उत्पादक समुदायका लागि एक विश्वसनीय, संयुक्त तथा व्यवसायिक आवाज उपलब्ध गराउनका साथै ठोस लाभ पनि प्रदान गर्दछ । हामी मेकर्स अभ्यासको सिर्जनशील हृदय र आत्मालाई जगेर्ना गर्छौँ, दक्षतालाई सराहना गर्छौँ र सिर्जनशील तथा व्यवसायीक विकासका प्रयोगात्मक अवसरलाई सहजीकरण गर्दछौँ ।
ब्रिटिश काउन्सिल
द ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसरका लागि संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्था हो । हामी ६ महादेशका १०० भन्दा बढी देशमा उपस्थित छौँ जहाँ प्रत्येक दिन अन्तर्राष्ट्रिय अवसरलाई जीवन दिने काम गर्दछौँ । हामीले यसका लागि सूत्रपात गर्ने कार्यक्रमहरू विविध प्रकारका छन् र तिनले कला, शिक्षा तथा समाज, र अंग्रेजी तथा परीक्षा आदिलाई ओगट्छन् ।
द ब्रिटिश काउन्सिल नेपालमा २०१६ सालदेखि सक्रिय छ । युवापुस्ता, महिला तथा बालिका र अन्य लक्षित समूहसँग संस्कृतिमा सहकार्यमार्फत् राष्ट्रिय कला कार्यक्रमले विकासमुखी परिणाम प्रदान गर्छन् । राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी सञ्जालहरूसँग सहकार्य गर्दै द ब्रिटिश काउन्सिलले नेपालमा विविध पृष्ठभूमिका व्यक्तिहरूलाई संयुक्त अधिराज्यको कला क्षेत्र तथा दक्ष जनशक्तिसँगको सहकार्यमा विश्वव्यापी चुनौतीलाई सामना गर्न सिर्जनशील उपाय विकास गर्ने अवसर प्रदान गर्छ ।
एडिनबर नेपियर विश्वविद्यालय
एडिनबर शहरको केन्द्रमा अवस्थित एडिनबर नेपियर विश्वविद्यालय एक आधुनिक, अध्ययनकेन्द्रित विश्वविद्यालय हो जहाँ प्रशिक्षण तथा अध्ययन र अनुसन्धानलाई प्रमुखता दिइन्छ । क्रिएटिभ इन्फर्मेटिक्स एडिनबर शहरमा अवस्थित एक महत्त्वाकांक्षी अध्ययन तथा विकास कार्यक्रम हो जसले यस शहरको विश्वस्तरीय सिर्जनशील उद्योगहरूलाई एकजुट गराउने र सिर्जनशील व्यक्ति तथा संस्थाहरूलाई नवीनतम उत्पादन, व्यवसाय तथा अनुभव निर्माणमा तथ्यांकको प्रयोग कसरी गर्न सकिन्छ भन्ने अध्ययन गर्न अनुदान तथा विकासका अवसर उपलब्ध गराउने लक्ष्य राख्दछ ।
काठमाडौँ विश्वविद्यालय
२०४७ सालमा नेपालको संसदद्वारा पारित कानुनमार्फत स्थापित काठमाडौँ विश्वविद्यालय एक स्वायत्त, गैरनाफामूलक, आन्तरिक स्रोतबाट संचालित सार्वजनिक संस्था हो । यस उच्च अध्ययन संस्था विभिन्न शास्त्रीय तथा व्यवसायिक विधामा प्राज्ञिक उत्कृष्टताका स्तर कायम राख्नप्रति प्रतिबद्ध छ । यस विश्वविद्यालयका सात विभिन्न संकाय छन्: स्कुल अफ आर्ट्स; स्कुल अफ एजुकेशन; स्कुल अफ इन्जिनियरिङ्; स्कुल अफ ल; स्कुल अफ म्यानेजमेन्ट; स्कुल अफ मेडिकल साएन्स; तथा स्कुल अफ साएन्स ।
राष्ट्रिय आविष्कार केन्द्र
२०६९ साल कार्तिक २४ गते स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्र (एनआइसी) नेपाल एक नाफा नबाँड्ने संस्थान हो जुन् नेपालमा अध्ययनअनुसन्धानको संस्कृति, प्रविधि तथा नवप्रवर्तन विकास गर्नप्रति समर्पित छ । एनआइसीले नेपालको नवप्रवर्तक, कुशल तथा उत्साही मानव संसाधनलाई नेपालमै राख्न र तिनको जगेर्ना गर्दै तिनको बौद्धिकता तथा सिर्जनशीलतालाई देशको सामाजिक तथा आर्थिक वृद्धिका निम्ति उत्प्रेरित बौद्धिकता र लगातार प्रयत्नका लागि एक अद्वितीय मंच उपलब्ध गराउँछ । नवप्रवर्तनका लागि प्रत्येक असल विचारले प्रस्फुटन पाउनुपर्छ, प्रोत्साहन र समर्थन पाउनुपर्छ र तिनलाई सशक्त बनाइनुपर्छ भन्ने एनआइसीको विश्वास छ। यस पहलमार्फत नेपाललाई समृद्ध राष्ट्र बन्न आवश्यक गतिशील अवसर सिर्जना गर्न तथा नेपालका कुशल र क्षमतावान व्यक्तिहरू अवसरको खोजीमा विदेशिनबाट संरक्षण गर्नेप्रति हामी प्रतिबद्ध छौँ ।






